छैन ओली सरकारलाई टिक्न सहज

Posted by Anup Baral | March 10, 2020 :
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरी पूर्ववत् अवस्थामा फर्कादिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर कार्यकर्ताले राहत मात्र महशुस गरेको छैन, उल्लास नै मनाएका छन् । पार्टी कमिटीका निर्णयभन्दा सीमित व्यक्तिको घेरामा बस्न रूचाउने र तिनकै कुरा सुन्दै आएका ओलीको अगामी राजनीति भने सहज छैन । अझ माओवादी केन्द्रसँगको एकता भङ्ग भइसकेको र पार्टीभित्र पनि वरिष्ठ नेता माधव नेपाल समूहको असन्तुष्टिका बीच अघि बढ्न उनलाई झन् कठिन हुने देखिएको छ । एमालेको ओली समूहले दुई पार्टी पुनर्स्थापित भएकोमा खुसीयाली मनाउँदै धुम्बाराहीस्थित मुख्यालयदेखि जिल्ला तहका कार्यालयमा समेत नेकपा एमाले लेखिएका बोर्ड राखेको छ । अहिले उल्लास मनाए पनि पार्टीको नाम विवादबारे सर्वोच्चले गरेको फैसलामा जितको महसुस गरेका ओलीका भावी दिन भने झन् चुनौतीपूर्ण छन् । प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा गठबन्धन गरेका एमाले र माओवादी २०७५ जेठ ३ मा एउटै दल बनेका थिए । जसको केन्द्रमा प्रधानमन्त्री ओली थिए । त्यतिबेला ओलीलाई संसदमा दुई तिहाइको समर्थनसहित सरकार सञ्चालनमा चौतर्फी अनुकूलता थियो । तर, त्यसको ६ महिना नबित्दै पार्टीमा खटपट सुरू भयो । दाहाल र माधव नेपाल समूह ओलीविरूद्ध उत्रियो । पार्टीभित्रैबाट असुक्षित देखेपछि ओलीले गत वैशाखमा दल फुटाउन सजिलो हुने र संवैधानिक नियुक्ति एकलौटी गर्न मिल्ने अध्यादेश ल्याए । व्यापक दबाबपछि अध्यादेश त फिर्ता लिए तर पद असुरक्षित नै रह्यो । त्यसैले हठात् रूपमा असार १८ मा संसद अधिवेशन अन्त्य गरिदिए । अर्को अधिवेशनको मुखैमा गएर ओलीले पुस ५ मा त विघटन गरिदिए । सर्वोच्च अदालतले विघटन बदर गरिदिएपछि ओली नैतिक रूपले कमजोर मात्र भएनन्, दाहाल-नेपाल खेमाले उनलाई पार्टी र सरकारबाटै हटाउने निर्णय लियो । तर यही बीचमा सर्वोच्चले एमाले र माओवादीलाई पूर्ववत् फर्काइदिएपछि नेपाल समूह दाहालको साथ छाडी ओलीसँगै रहन बाध्य भएको छ भने माओवादी कांग्रेस र जसपासँग गठबन्धनको कसरतमा छ । तर ओली समूह भने सरकार कुनै हालतमा नढल्ने विश्वासमा छ । अब माओवादीले समर्थन फिर्ता लिए ओली सरकार जुनसुकै बेला धरापमा पर्न सक्छ । विगतमा पार्टीभित्रको मात्र अवरोध खेपेका ओलीले अब कांग्रेस, माओवादी र जसपाको सामना गर्नुपर्नेछ । यी तीनमध्ये एउटाको समर्थन लिन नसके ओली पदबाट विदा हुनुपर्नेछ । समीकरण मिलाउन नसके ओली सरकारबाट मात्र बाहिरिने छैनन्, पार्टीभित्र पनि नेपाल समूहको दबाब झेल्नुपर्नेछ । सुविधाजनक बहुमतसहित सरकारको नेतृत्वमा रहन ओलीलाई विगतमा जति सहज थियो, अब त्यो छैन । एमालेबाहेक अन्य तीन दल मिल्दा पनि सरकार गठन हुने भएकाले ओली सरकारलाई टिक्न सहज हुने छैन ।