बेलायतमा नेपाली चलचित्रकर्मीलाई नेपाली दूतावासले सम्मान

Posted by Anup Baral | November 08, 2020 :
बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीहरुलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले उनीहरुलाई सम्मान गरेका हुन् । लामो समयदेखि बेलायतमा रहेर कला क्षेत्रमा योगदान पुरयाएबापत राजदूत सुवेदीबाट विशेष सम्मान पाउनेमा निर्देशकद्वय कुशल श्रेष्ठ र सनमकुमार वैराग छन् । उनीहरु दुवैलाई नेपाली खुकुरी, पुष्पगुच्छा र मायाको चिनोसहित राजदूतले सम्मान गरेका थिए । एक दशक लामो समय बेलायतमा रहेर मिडियाकर्ममा सक्रिय निर्देशक श्रेष्ठले झन्डै तीन दर्जन नेपाली म्यूजिक भिडियो निर्देशन तथा छायांकन गरेका छन् । उनीसँग आधा दर्जन नेपाली चलचित्रमा छायांकनको अनुभव पनि छ । त्यस्तै, सम्मानित हुने अर्का निर्देशक सनमकुमार वैरागले नेपाल तथा बेलायतमा रहेर लामो समय कला क्षेत्रमा योगदान गरेका छन् । बेलायतमा आफ्नै निर्देशन र अभिनयमा नेपाली नाटकहरु प्रस्तुत गर्दै आएका उनले चलचित्र निर्माण तथा निर्देशन पनि गर्दै आएका छन् ।