The story of Susta! NEWS24 TV

Posted by Anup Baral | May 23 , 2020 :
३३ हजार हेक्टर बढी जमिन मिचिएको सुस्ताको पीडामा सरकारको ध्यान गएन, सीमा रक्षामा खटिएका नेपाली नागरिक अझै ‘अनागरिक’को दर्जामा । सुस्ताको कथा ! सीमा समस्या आजको होइन । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र होइन सुस्तामा पनि धावा बोलेको छ । सार्वभौम नेपालीको हरेक मन चुँडिने गरी भारतीय सिपाहीका बुट नेपालीको छातीमा बज्रिने गरेको छ । हालै सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटेर नेपालको पूर्ण नक्सा जारी गरेको छ । योसँगै सुस्ताका कथाहरु पनि सरकारले सुन्नुपर्छ । कहिले कहीँ जाग्ने काठमाडौंको राष्ट्रबादमा सुस्ताको पीडा किन छुट्छ ? सुस्तालाई जोगाउन भारतसँग लड्दै आएका नेपालीहरुको प्रश्न हो, यो । नेपालको लिम्पियाधुरालाई भारतिय नक्सामा गाभेको विषयमा नेपालमा विरोध भइ रहदाँ दुखि रहने अर्को घाउ हो, सुस्ता । जहाँ नेपाली स्वाभिमानमाथि सदैव धरपकड भई रहन्छ । जुवाडेले हारेर छाडेको खाल जस्तो अवस्था छ । जहाँ सदैव अस्मिता बचाउन सुस्ताले चित्कार छोड्नु पर्छ, काठमाडौँको सिंहदरबारको कान फुट्ने गरी । तर सिंहदरबारले कहिल्यै वास्ता गरेन । सुस्ता भारतको विहार र उत्तर प्रदेश दुवैसँग सिमाना जोडिएको छ । जहाँ २ सय ६३ घरधुरीको बसोबास छ । सुस्ताको ४० हजार ९ सय ८० हेक्टरमध्ये भारतले मिचेर बाँँकी ७ हजार ५ सय हेक्टर मात्रै नेपालले उपभोग गरेको छ । सुस्तामा जङ्गे पिल्लर नम्बर २६, २७ र २८ रहे पनि हाल ती पिल्लरहरू सारिएको र कैयौँ सहायक पिल्लरहरू हराएका छन् । सिमल रुखलाई नै जंगे पिलर मान्नु परेको छ । सुस्ताको कुल क्षेत्रफल ः ४० हजार ९ सय ८० हेक्टर भारतले मिचेको ः ३३ हजार ४८० हेक्टर नेपालले उपभोग गरेकोः ७ हजार ५ सय हेक्टर स्थानीय बासिन्दाले ‘सुस्ता बचाउ अभियान’ चलाउन थालेको धेरै भइसक्यो, तर सरकार र राजनीतिक दलहरूले चासो नदिंदा सुस्ता अभियान पनि सुस्ताउँदै गएको छ । यसबारे बेलाबेलामा कुरा उठ्छ, अनि तेल सकिएको टुकीझै निभ्छ । मुलुकबाट छुट्टएिको टापु हो सुस्ता । तीनतिर भारतको सीमा छ भने एकातिर नारायणी । दशकौंदेखि सुस्तावासीहरू यसरी नै बस्दै आएका छन् । भारतको उत्तर प्रदेशमा पर्ने सीमा बजारमा उनीहरू निर्भर छन् । दैनिक उपभोग्य सामान खरिदका लागि सीमा बजार जानु बाध्यता हो । हरेकपटक किनमेल गर्न जाँदा भारतीय सुरक्षा बलले ’तिमीहरू नेपाली हौ भने आफ्नै बजारमा किनमेल गर, भारतीय हौ भने यहाँ आऊ’ भन्ने वचनले सबभन्दा बढी घोच्ने गरेको छ । उनीहरूका लागि भारत र नारायणी नदी उस्तैउस्तै हो । किनभने आफ्नोतिर जाऔं भने नदीले छेक्छ, भारततिर जाँदा सुरक्षा बलले । नारायणी नदीमा गण्डक बाँध बनेपछि साँधमा अवस्थित यो भूमिका बासिन्दाले अनेकपटक अनेक दुःख झेलिरहेका छन् । २०२२ सालमा राजा महेन्द्रले बस्ती बसाउने भएपछि विभिन्न ठाउँबाट फरक–फरक रहनसहन भएका परिवारहरू सुस्ता आइपुगेका थिए । यहाँ आइपुग्नेमध्ये भूपू–सैनिकहरूको संख्या उल्लेख्य थियो । शिक्षा, स्वास्थ्य, सञ्चार र सुरक्षाको प्रवन्ध थियो । ०३१ सालमा यहाँका स्थानीयलाई सरकारले लालपुर्जा दिएको थियो । २०३६ सालको चुनावअघि सुस्तालाई त्रिवेणीमा लगेर गाभियो । पहिलेका सेवासुविधाहरू केही पनि भएनन्, सुस्तासँग । न बजार थियो, न पुलिस । बस, चकमन्न ठाउँ थियो । त्यसपछिका दिनहरूमा सुस्ताका जनता लामो समयसम्म कहिले बाढी, कहिले भारत त कहिले आफ्नै राज्यबाट पीडित बनिरहे । सुस्तामा २०६३ कात्तिकबाट शसस्त्र प्रहरी बस्न थालेपछि भने एसएसबीको ज्यादती कम भएको अनुभव छ । सिमाको सुरक्षा कवज बनेका सुस्ताबासीको सुरक्षाको चासो राज्यले किन गर्दैन ? प्रश्न अनुत्तरित छ ।